Sunday, May 20, 2012

Miss Nepal


प्रेमको झन्कार मनमा अझै छ
सृष्टि श्रेष्ठ, मीस नेपाल २०१२

लामो समयपछि ठूलो सम्भावना बोकेकी युवती मिस नेपाल भएकी छन् । बेलायतमा तीन वर्षदेखि मोडेलिङ् गरिरहेकी सृष्टि श्रेष्ठले मीस नेपालको ताज पहिरिदै गर्दा निणर्ायकहरुले यसपालीकी मिस नेपाल विशेष भएको प्रतिक्रिया दिएका थिए । हुन पनि आयोजक संस्थाले उनको प्रतिभा देखेर सृष्टिका लागि केही नियम पनि तोडेको आरोप लागेको छ । ५ फिट ९ इन्च अग्ली आकर्षक सृष्टि भने यस्ता कुराबाट बेखवर छिन् । गएको बुधवार अति व्यस्तताका बावजूद पनि आयोजक संस्था हिडेन ट्रेजरले सृष्टिसहित मीस नेपालका प्रथम तीन युवतीलाई साप्ताहिकसँग भेट गरायो । साधारण भेषभूषामा दरवारमार्गको नाङ्लो रेष्टुराँमा आएकी सृष्टिले अश्विनी कोइरालासँग खुलेर कुरा गरिन् ।

तपाईंको नामसँग तपाईंको जीवनको केही अर्थ छ ?
सृष्टि भनेको क्रिएसन हो । यो संसार स्वयंमा एउटा क्रिएसन हो । अनी म त्यस क्रिएसनको एउटा अङ्ग । मेरो नामसँग मेरो जीवनको अन्तरङ्ग सम्बन्ध छ ।
तपाईंसँग त्यस्तो के छ, जसले तपाईंलाई मिस नेपाल बनायो ?
पोजेटिभ थट । म कुनै कुरालाई पनि नकारात्मक रुपमा लिन्न । हरेक कुरामा इन्ज्ाोय गर्छु । त्यसपछि म जुन कुराको उद्देश्य राख्छु, त्यसलाई लगनशिल भएर पुरा गर्छु । यहि तीन कुराले मलाई मिस नेपाल बनाएको हुन सक्छ । मुख्य कुरा सकारात्मक सोच हो ।
सकारात्मक सोच भनेको त्यति सजिलै प्राप्त हुँदैन, त्यति ठूलो कुरा तपाईंले कसरी प्राप्त गर्नुभयो ?
जस्तो हामी यतिबेला चिया पिइरहेका छौं । यो चियाको प्रत्येक चुस्कीमा एउटा स्वाद छ । फरक कति छ भने त्यो स्वाद हामी लिइरहेका छौं कि  छैनौ । यदि स्वाद लिइरहेका छौं भने हामी सकारात्मक सोचमा छौं । प्रत्येक पल इन्जोय गरिरहेका छौं । चीया पिउने जुन उद्देश्य थियो, त्यो पुरा गरिरहेका छौं ।
साह्रै सुन्दर कुरा, यो सोच्ने शैली हो, कहाँबाट पाउनु भयो ? 
मेरो बुवाबाट । उहाँ मलाई भन्ने गर्नुहुन्छ, तिमी जुन काम गर्छौ, हृदयदेखि गर, प्रेमपूर्वक गर । उद्देश्य भएका कुरा मात्र गर । निरर्थक कुरा नगर । म सकेसम्म उहाँको कुरा फलो गर्ने प्रयास गर्छु ।
तपाईं अहिलेसम्मका सुन्दर मिस नेपालहरु मध्ये एक हुनुहुन्छ भन्ने थाहा   छ ?
थाहा छ । यद्यपि सुन्दरताको परिभाषा मेरो केही भिन्न छ । सुन्दर स्त्री घमन्डी हुनसक्छिन् । यदि कोही स्त्रीमा घमन्ड छ भने त्यो सुन्दरताको अर्थ  रहन्न । ममा त्यो घमन्ड आएको दिन मेरो स्वन्दर्य मर्छ । त्यसैले म सचेत छु ।
त्यो घमन्ड आएको नआएको कसरी थाहा पाउनु ?
आफन्त र परिवारले थाहा पाउँछन् । जस्तो मलाई सुरुमा भेट्नेहरुले मलाई सुन्दरताको घमन्ड छ कि भनेर सोच्ने गर्छन् । जव दुई चार मिटिङ् हुन्छ, उनीहरु आफै भन्छन्, तपाईंको रुप भन्दा तपाईंको व्यवहार असल छ । सौन्दर्य भनेको यहि हो ।
यति राम्री स्त्री कहिलै प्रेममा परि कि परिन ?
एकपल्ट परि । ऊ मेरो कलेजको साथी थियो, तर कतिखेर प्रेमी भयो मलाई नै थाहा भएन । जे होस्, प्रेम भनेको के हो मलाई थाहा छ ।
त्यो प्रेम अहिले टुङ्गियो भन्ने सुनियो, के भयो ?
प्रेम कहिलै टुङ्गिदैन । यति हो, उ र म टाढा भयौं । यद्यपि त्यो प्रेमको झङ्कार अझै मेरो मनमा छ ।
मिलनको सम्भावना छ ?
संगीतको अन्त्यमा त्यसको झन्कार मात्र बाँकी रहन्छ ।
प्रसङ्ग केही परिवर्तन गरौं, अहिले तपाईं मीस नेपाल हुनुभएको छ, यद्यपि नियम मिचेर तपाईंलाई समावेश गरियो भन्ने आरोप लागेको छ, के भन्नुहुन्छ ?
मैले सन् २०१० मै मिस नेपालमा भाग लिन हिडेन ड्रेजरसँग सम्पर्क गरेकी थिएँ । त्यसबेला मैले अडिसन दिएकी थिएँ । ए लेभल अध्ययन गरिरहेको अवस्थामा मैले त्यसबेला त्यो अवसर पाइन । त्यसबेला दिएको प्रारम्भिक अडिसनले पनि काम गरेको हुन सक्छ ।
यो वर्ष हुने प्रतियोगिताको अडिसन दुई वर्षअघि दिएर हुन्छ ?
मैले फोनमा म नर्सिङ् पढिरहेकी छु । कलेजका कारणले एक हप्ता ढिला हुन्छ भनेर आफ्नो समस्या राखेकी थिएँ । उहाँहरुले मेरो पुरानो अडिसनलाई आधार बनाउन सकिने बताउनु भयो । फोनमा लामो अन्तरवार्ता लिनुभयो । फिजिकली उपस्थित नभए पनि फोनबाट म सेलेक्ट भएकी हुँ । अहिलेको प्रविधिको युगमा यसलाई सामान्य रुपमा लिनुपर्छ ।
तै पनि विरोध भइरहेको छ, के भन्नुहुन्छ ?
मैले प्रारम्भिक अडिसन मात्र छुटाएकी हुँ । पछिल्ला सबै तालिम र प्रतिस्पर्धामा मैले भाग लिएकी थिएँ । लामो यात्राबाट आउँदा एक-दुई दिन ढिला भएको हुनसक्छ । यद्यपि फोनबाट आयोजक एवं जर्जहरुसँग प्रारम्भिक अन्तरवार्ता दिएकी हुनाले त्यो ठूलो कुरा हो भन्ने मलाई लाग्दैन ।
एउटी नेपाली युवती बेलायत जस्तो देशमा मोडलिङ्को अवसर कसरी पाउनु भयो ?
म साउथ वेस्ट इङ्ल्यान्डको क्रिप्स रेस्टुराँमा वेट्रेसको काम गर्थे । ए लेभलको पढाईका लागि मैले त्यो साधारण रेष्टुराँमा जागीर खानु परेको थियो । काम गरेको दुई चार महिनापछि एक जना व्यक्ति लगातार मैले काम गरेको रेष्टुराँमा आउन थाल्नुभयो । उहाँ मलाई निकै ध्यान दिएर हेर्दथ्यो र मलाई नै अर्डर गरेर डिस ल्याऊ भन्थ्यो । आफ्नो ग्राहकलाई खुशी राख्नु हाम्रो धर्म हो । म उसले अर्डर गरेका सामग्री पुर्‍याउँथे ।
को थियो त्यो व्यक्ति ?
चर्चित फोटोग्राफर विपोन्ड थोमस । उहाँ विभिन्न म्यागेजिनका लागि न्यु कमर मोडल खोज्ने र थिम अनुसार फोटो सेसन गर्नुहुँदो रहेछ । मलाई देखेपछि उहाँले म मोडलिङ्का उपयुक्त युवती हुँ भन्ने ठान्नु भएछ । म कुन पहिरनका लागि उपयुक्त हुन्छु भनेर मेरो रेष्टुराँमा आउन थाल्नु भएको  रहेछ । अनी एक दिन मलाई तिमी मोडलिङ् गर, तिम्रा लागि राम्रो अफर छ भन्नुभयो । पहिले त मैले पत्याइन । उहाँले आफ्नो बारेमा बताएपछि मैले अफर स्वीकार गरें ।
त्यसपछि ?
त्यहाँको 'ब्राइडल' म्यागेजिनमा मेरो फोटो छापियो । त्यसपछि उहाँले मोडलिङ् गर्ने रहर लागे मलाई भेट्नू भनेर आफ्नो सम्पर्क ठेगाना   िदनुभयौ । त्यसपछि मलाई यो क्षेत्रमा अघि बढ्ने रहर बढेर आयो ।
अहिले बेलायतमा मोडलिङ्को कुन पोजिसनमा छु भन्ने लाग्छ ?
त्यहाँ मेरो विशेष पोजिसन छ भन्ने लाग्दैन । मलाई एउटा मोडल एजेन्सीले एक वर्षको कन्ट्राक्टमा लिएको थियो । एसियाली मूलको कुनै मोडल चाहिएको खण्डमा एजेन्सीले मलाई रिफर गर्छ । धेरै युरोप-अमेरिकन मोडेलको बीचमा म एक्ली नेपाली मोडल भएकी छु ।
बेलायतमा पहिलो नेपाली मोडल ?
पहिलो भनेर दावी गर्दिन । यद्यपि अहिले त्यहाँ म एक्ली नेपाली मोडल हुँ कि भन्ने लाग्छ ।
अहिले मीस नेपाल हुनुभएको छ, अब बेलायतको मोडलिङ्को दुनिया छाड्नु हुन्छ ?
सबै नेपालीहरुका लागि नेपाल पहिलो प्राथामिकतामा पर्छ । विदेशमा जतिसुकै प्रख्यात भए पनि नेपालमा सानो भूमिका निभाउन पाउँदा पनि नेपालीलाई गर्व लाग्छ । त्यसमाथि मिस नेपाल आफैमा ठूलो पद हो । यो भूमिका निभाउन पाउनु मेरा लागि ठूलो अवसर हो । फेरि म बेलायतकै प्रशिद्ध मोडल त होइन । सानो तिनो एजेन्सीले सानो तिनो काम गर्ने मोडल हुँ । म बेलायतकै सुपर मोडल बन्न सक्छु भन्ने सपना पनि पालेकी छैन । मेरा लागि मिस नेपाल हुनु धेरै ठूलो कुरा हो । यसका लागि यस्ता कुरा त्याग गर्न सकिन्छ ।
मीस नेपाल बन्ने सपना कहिलेदेखि पाल्नु भएको थियो ?
जुन बेला माल्भिका सुब्बा मीस नेपाल हुनुभयो, त्यसबेला मलाई मीस नेपालको गरिमा बढेको महसुस भयो । त्यहि बेलादेखि सपना बुन्न थालेकी थिएँ । मोडेलिङ्ले यसमा थप उत्साह प्रदान गर्‍यो ।
अब एक वर्ष तपाईंले नेपाल र नेपालीकै लागि काम गर्नुपर्छ, के भन्नुहुन्छ ?
त्यो मलाई थाहा छ । नेपाल आएर यसरी काम गर्न पाउनु त ठूलो कुरा   हो । म त यो अवसर पाएर निकै खुशी छु ।
कतिपय मिस नेपाल आफ्नो कार्यकाल सकेपछि विदेश पुग्छन्, तपाईंका परिवार बेलायतै बसोवास गर्छ, यस अर्थमा नेपालीले तपाईंलाई एक वर्ष मात्र देख्न पाउने भए, होइन ?
म बेलायतमा मोडलिङ् गरे पनि वा नर्सिङ्को विद्यार्थी भए पनि बेलाबेलामा नेपाल आएर समाज सेवाकेा काम गर्थे । चितवनको एउटा बृद्धाश्रम एवं जिल्लाका कतिपय स्थानमा स्वास्थ्य सेवा दिने काममा खट्ने गर्थे । मेरो बुवा बेलायतमा रेष्टुराँ खोलेर बस्नु भएको छ । उहाँको मन भने नेपालमै छ । अलिकति पैसा जुटाएर नेपाल आउने र केहि न केहि सहयोग गर्ने कार्यलाई दश वर्षदेखि निरन्तरता दिइरहनु भएको छ । उहाँको कारण म पनि यस्ता काममा जोडिएकी छु । मिस नेपालले मलाई त्यस्ता काममा थप जम्ने अवसर दिएको छ ।
भन्न त सबैले यसै भन्छन्, तर व्यवहार फरक पर्ने गरेको छ.... ?
अहिले नै मैले धेरै कुरा गर्नु हतार हुन्छ । यो बोलेर गर्ने कुरा होइन, गरेर प्रुफ गर्ने कुरा हो । यति चाहिँ भन्छु, म हराउने मिस नेपाल होइन ।
तपाईं मिस नेपाल भएपछि निणर्ायकहरुले पनि तपाईंबाट धेरै आशा राखेको देखियो, चीनमा हुने मिस वर्डले नेपाललाई के देला ?
म आफ्नो तर्फबाट धेरै मेहेनत गर्दैछु । जुन आशा, जुन भरोसा र विश्वासले मलाई यो ताज पहिर्‍याउनु भएको छ, त्यो भरोसा म सकेसम्म मर्न दिन्न । आशा गरौं, केहि न केहि त अवश्य होला ।


No comments:

Post a Comment